Public Pana
स्कटल्याण्डलाई स्तव्द पार्दै १२ बर्षपछि टि २० विश्वकपमा नेपालको एैतिहासिक जित

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत मंगलबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई ७ विकेटले पराजित गरेको छ। 

मुम्बईको वानखेडे स्टेडियममा  स्कटल्याण्डले दिएको १७१ रनको चुनौतीपूर्ण लक्ष्य नेपालले १९.२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गर्दै अविजित अर्धशतक प्रहार गरे। उनले मात्र २३ बलको सामना गर्दै ४ चौका र ३ छक्काको मद्दतले ५० रन जोडे। दीपेन्द्रलाई गुल्सन झाले १७ बलमा २४ रन बनाएर उत्कृष्ट साथ दिए। यी दुई ब्याटरले चौथो विकेटका लागि अविजित साझेदारी गर्दै खेल ४ बल बाँकी छँदै नेपालको पक्षमा पारेका थिए।

यसअघि, १७१ रनको लक्ष्य पछ्याउने क्रममा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ७४ रनको बलियो ओपनिङ साझेदारी गर्दै नेपाललाई जितको आधार तय गरिदिएका थिए। कुशलले ३५ बलमा ४३ रन (१ चौका, ४ छक्का) र आसिफले २७ बलमा ३३ रन बनाए। कप्तान रोहित पौडेल भने १६ रन बनाएर आउट भए। 

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो। उसका लागि ओपनर माइकल जोन्सले सर्वाधिक ७१ रनको योगदान दिए। उनले ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै जर्ज मुन्सेले २७ र ब्रान्डन म्याकमुलनले २५ रन बनाए। एक समय १० ओभरमा ८० रन बनाएर विष्फोटक सुरुवात गरेको स्कटल्याण्डलाई मध्य र अन्तिम ओभरमा नेपाली बलरहरूले कसिलो बलिङ गर्दै रोकेका थिए।

 नेपाली खेल समर्थकहरुले खचाखच भएको स्टेडियमा दर्शकको मायाबाट खेलाडीहरु निकै हौसिएका थिए ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update