Public Pana
धनिमाथी कर बढाउने बजेट गभर्नरले स्वीकृत नगरे सम्पत्ति कर बढाउने न्युयोर्कका मेयर ममदानीको चेतावनी

अमेरिकाको न्युयोर्क सिटीका मेयर जोहरान ममदानीले सम्पत्ति कर ९.५ प्रतिशतसम्म बढाउनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्। प्रारम्भिक बजेट सार्वजनिक गर्दै ममदानीले धनी वर्गमाथि आयकर वृद्धिको प्रस्ताव पारित नभए सम्पत्ति कर ९.५ प्रतिशतसम्म बढाउनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका हुन्।

मेयर ममदानीका अनुसार यो कदम “अन्तिम विकल्प” मात्र हुनेछ। गभर्नर क्याथी होकुलले वार्षिक १० लाख डलरभन्दा बढी आम्दानी गर्ने व्यक्तिमाथि आयकर २ प्रतिशतले बढाउने प्रस्तावलाई समर्थन नगरेमा न्युयोर्क सहरले आफ्नै स्रोत प्रयोग गर्नुपर्ने बाध्यता आउने उनले बताएका हुन्।

प्रस्तावित ९.५ प्रतिशत सम्पत्ति कर वृद्धिले न्युयोर्क सहरका ३० लाखभन्दा बढी एकल परिवारका घर, को–अप, कन्डो तथा १ लाखभन्दा बढी व्यावसायिक भवनहरू प्रभावित हुने बताइएको छ।

मेयर ममदानीद्वारा प्रस्तुत पहिलो बजेट योजना १२७ अर्ब डलरको छ। यो हालको बजेटभन्दा ५ अर्ब डलर बढी हो। यो बजेट जुलाई १ देखि लागू हुने गरी तयार गरिएको हो। तर, त्यसअघि सिटी काउन्सिलसँग यसमा छलफल र संशोधन हुनेछ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update