 
                                                                    काठमाडौँ । सत्तारूढ दल नेकपा (एमाले) ले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेको छ ।
आइतबार सुरु भएर मङ्गलबार (आज) सकिएको केन्द्रीय कमिटी बैठकले १४ वटा समसामयिक प्रस्ताव पारित गर्दै संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेको हो ।
एमालेले भनेको छ- 'नेपालको संविधान संशोधनको १० वर्ष पुग्न लागेको छ। संविधान कार्यान्वयनको वस्तुनिष्ठ समीक्षा गर्दै यसका सबल र दुर्बल पक्षको निर्क्योल गर्न र संविधानका प्रगतिशील अन्तर्वस्तुहरूको संरक्षण र राजनीतिक स्थायित्वलाई सुनिश्चित गर्नेगरी बृहत् समझदारी र सहभागितामा संविधानको समयानुकूल संशोधनको प्रक्रिया अगाडि बढाउन यो बैठक सरकारसँग माग गर्दछ ।'
यस्तै एमालेले विभिन्न कारणले पार्टीभन्दा बाहिर रहेका नेताहरूलाई पार्टीमै फर्किन आह्वान गरेको छ। निर्णायक राष्ट्रिय शक्ति बनाउन एमालेलाई मात्रै सम्भव रहेको उल्लेख गर्दै भनेको छ- 'पार्टी विभाजनलगायत कारणले पार्टी बाहिर रहनुभएका कमरेडहरू र स्वतन्त्र ढङ्गले क्रियाशील रहनुभएका मित्रहरूलाई एमालेमै फर्किन, यसमा आबद्ध हुन र सक्रिय हुन यो बैठक आह्वान गर्दछ।'
एमालेले भ्रष्टाचारजन्य गतिविधिविरुद्ध निर्मम भएर उत्रिन सरकारलाई आह्वान गरेको छ । भ्रष्टाचार नियन्त्रण, अभियोजन र सुरु गरेका कदमहरू सकारात्मक भएको उल्लेख गर्दै पारदर्शिता सुनिश्चित गर्ने कुरामा यो बैठक दृढ सङ्कल्प गरेको छ ।
त्यसैगरी केन्द्रीय कमिटी बैठकले सचिवालय बैठकले नेता भीम रावल, नेतृद्धय बिन्दा रावल र उषाकिरण तिम्सिनालाई गरेको कारवाहीलाई सर्वसम्मत अनुमोदन गरेको छ ।



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    