 
                                                                    काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको मुद्दा लागेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतको आदेशमा ६० लाख रुपैयाँ धरौटी राखेर रिहा भए पनि त्यही आरोप लागेका पूर्वडीआईजी छविलाल जोशी भने सम्पर्कविहीन रहेका छन् ।
कास्की जिल्ला अदालतबाट सँगै धरौटीमा रिहा भएका लामिछाने काठमाडौं अदालतमा उपस्थित भए पनि जोशी भने अहिलेसम्म अदालत पुगेका छैनन् भने प्रहरीको सम्पर्कमा समेत नरहेको बुझिएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको मुद्दा खेपिरहेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी अदालतमा हाजिर नभएपछि बाहिरै रहेर काठमाडौं जिल्ला अदालतमा हाजिर हुने सुविधा दिएको प्रति प्रश्न उठ्न थालेको छ । जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
लामिछानेले आफू शुक्रबार नै अदालतमा हाजिर हुने भने पनि आइतबार मात्र पुगेका थिए ।
जोशीमाथि मुद्दा दायर भइसकेको र अदालतले पक्राउ पूर्जीसमेत जारी गरिसकेको अवस्थामा पनि उनी पक्राउ पनि परेका छैनन् ।
कास्की जिल्ला अदालतमा प्रहरीले मुद्दा पेश गर्दा नै रवि र छवि छुटिजाने अवस्थामा पुनः प्रहरीकै जिम्मा दिन माग गरेको थियो । तर, अन्य जिल्लाका मुद्दाका सम्बन्धमा आफैँ उपस्थित हुने सर्तमा उनीहरू रिहा भएका थिए ।



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    