काठमाडौं । पालिका डटकमका सम्पादक कमलबहादुर बोहरामाथि अज्ञात समुहले आक्रमण गरेका छन् ।
नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सदस्य समेत रहेका बोहरालाई सोमबार साँझ काठमाडौँको मध्य बानेश्वरमा अज्ञात समुहले आक्रमण गरेका हुन् ।
सम्पादक बोहोरामाथि भएको आक्रमणप्रति पत्रकार महासंघ काठमाडौँ शाखाले गम्भीर ध्यानाकर्षण भएको भन्दै आक्रमणकारीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।
शाखाका सचिव रमेश कुमार बोहोराले एक विज्ञप्ति जारी गर्दै समाचारप्रति चित्त नबुझे नेपाल प्रेस काउन्सिलमा उजुरी गर्न सकिने प्रावधान हुदाहुदै भएको आक्रमणप्रति गम्भीर आपत्ति प्रकट गर्दै आक्रमणकारीलाई कारवाहीको माग गरेको हो । शाखाले आक्रमणमा परेका बोहराको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघले पनि बोहरामाथि भएको आक्रमणको भर्त्सना गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायारामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।


