Public Pana
मधेश प्रदेश सभाको आक्स्मिक बैठक आह्वान: मुख्यमन्त्री सरोजकुमार यादवले आजै विश्वासको मत लिदैं

मधेस प्रदेशको प्रदेशसभा बैठक अगामी जेठ ३२ गते बस्ने भनिएकोमा आज आकस्मिक रूपमा बैठक डाकेर मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन लागेका हुन्। प्रदेशसभाको आकस्मिक बैठक मङ्गलवार साँझ ५ बजेको लागि बोलाइएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए।

सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र पुनः विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ। एमालेसहितका दलको समर्थनमा गत पुस २७ गते यादव मुख्यमन्त्रीमा  नियुक्त भएका थिए। तर, एमाले गत चैत २१ गते मधेस सरकारबाट बाहिरिएको थियो भने जेठ १ गते समर्थन फिर्ता लिएको थियो। संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएपछि आज तीस औँ दिनको दिन आकस्मिक बैठक बोलाएर मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन्। 

त्यसका लागि मङ्गलवार बिहान मधेस प्रदेशमा सत्ता गठबन्धनको बैठक बसेको थियो। बैठकले ३२ गते विश्वासको मत लिइए दिनको हिसाबले कानुनी अड्चन आउन सक्ने भएकाले आजै विश्वासको मत लिने निर्णय गरेको थियो। सोही अनुसार हतारमा बैठक आह्वान गरिएको हो। 

प्रदेशसभा सचिवालयले सांसदहरूलाई मोबाइलमा एसएमएस पठाएर आज साँझ ५ बजे बैठकमा सहभागी हुन सूचित गरेको छ। 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update