
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११औँ महिनामा कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आएको जनाएको छ ।
राष्ट्र बैंकले सोमबार जारी गरेको गत जेठ महिनासम्मको विवरण अनुसार कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आई १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ कायम भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ३८ अर्ब ४७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २ खर्ब ८८ करोड बराबरको भएको थियो ।
गत जेठसम्म कुल वस्तु निर्यात २२.७ प्रतिशतले कमी आई १ खर्ब ४३ अर्ब ५९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५३.३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३२.२ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १०६.७ प्रतिशत र ९.९ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड,अलैंची, ऊनी गलैँचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७९/८० को ११ महिनामा कुल वस्तु आयात १६ प्रतिशतले कमी आई १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाब्एको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७.५ प्रतिशतले बढेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १७.१ प्रतिशत र १८.५ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, कागज, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम.एस.विलेट, औषधी, कच्चा भटमासको तेल, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको छ ।
निर्यात भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट निर्यात घटेको छ । आयात रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
विदेशी मुद्रा सञ्चिति १४ खर्ब ८० अर्ब रूपैयाँ (११ अर्ब २९ करोड डलर) पुगेको छ। यस्तो सञ्चितिले ९ अहिलेकै दरमा महिना १८ दिनको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुन्छ।
रेमिटेन्समा उच्च वृद्धि भएसँगै मुलुकबाट बाहिरिने रकमको तुलनामा मुलुक भित्रिने रकम (भुक्तानी सन्तुलन) पनि बढ्दै गएको छ। मुलुकको भुक्तानी सन्तुलन २ खर्ब २८ अर्ब रूपैयाँले सकारात्मक छ। रेमिट्यान्स गत आर्थिक वर्षभन्दा २२.७ प्रतिशतले वृद्विभई जेठसम्म ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।