
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजार शिथिल हुँदा बैंकहरुको कर्जा विस्तारमा कमी आएको बताएका छन् ।
अर्थ समितिमा मौद्रिक नीतिका विषयमा आयोजित छलफलका क्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । उनले अघिल्लो आर्थिक वर्षमा निक्षेप राम्रो भए पनि कर्जा विस्तार कम भएको बताए ।
गभर्नर अधिकारीले भने, ‘कर्जाको मागमा कमी हुनुको प्रमुख कारण बजारमा समग्र मागमा कमी आउनु हो’।
बैकिङ क्षेत्रमा असारमा तरलता राम्रो बढेको भन्दै उनले सीआरआर बाहेक नै करिब ८८ अर्ब तरलता प्रणालीमा रहेको जानकारी दिए ।
करिब ६० अर्ब राष्ट्र बैकले खिचेको उनले बताए । ब्याजदर अघिल्ला वर्षको तुलनामा केही माथि भए पनि पछिल्ला दिनमा घट्दो क्रममा रहेको उनको भनाइ छ ।
साथै, गभर्नर अधिकारीले बजेटका लक्ष्यहरु पूरा गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् । बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति आउने उनले उल्लेख गरे ।