
अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) चार सय केभी विद्युत् प्रसारण आयोजनाअन्तर्गत पाल्पामा स्थायी जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ ।
नयाँ बुटवल सबस्टेसनदेखि नयाँ दमौली सबस्टेसन खण्डअन्तर्गत पर्ने जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको हो ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले आज बुधबार सूचना जारी गर्दै निस्दी गाउँपालिकाका ५ को गल्धा, ६ को अर्चले र ७ को ज्यामिरेमा रामपुर नगरपालिकाका १, २, ३ र ४ नम्बर वडाको दर्छा र गाँडाकोटमा पर्ने जग्गा अधिग्रहणमा पर्नेछ ।
सार्वजनिक विवरणमा घर, गोठ, जग्गा, कटेरा, टहरासहित रुख–बिरुवासमेत स्थायी रुपमा अधिग्रहण गर्नेगरी जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ उपदफा १ प्रयोजन र जग्गाको स्वामित्व फरक परेको भए वा छुटेको भए सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दाबी गर्न सकिने जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जाकारी दिए ।
जग्गा अधिग्रहण गर्नु नपर्ने भए पनि कारणसहित २१ दिनभित्र जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा उजुरी गर्न सकिनेछ । तोकिएको म्यादभित्र निवेदन नदिई म्याद गुजारेमा कानुनबमोजिम हुनेछ । पाल्पा जिल्लाभित्र विद्युत् प्रशारण लाइनको ७४ वटा पोल टावर पर्नेछ भने नेपाल सरकार र व्यक्तिगत जग्गा गरी १४६ कित्ता पर्ने सूचनामा उल्लेख छ ।