
सम्झौताको म्याद सकिन करिब आठ महिना बाँकी छँदा कर्णालीमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै मितिभित्र पूरा हुने भएको छ ।
मुआब्जा तथा अन्य विवाद सल्टिएपछि कोहलपुर – सुर्खेतमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै समयमा पूरा हुने भएको हो ।
बाँकेको बैजथानस्थित बस्तीमा सामान्य समस्या आए पनि करिब–करिब हल उन्मुख भएपछि काममा तीव्रता आएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ ।
विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बैजनाथ गाउँपालिका–१ गाभर र वडा नं ४ को बानियाभार हुँदै लाइन विस्तार गरिँदै छ । उक्त लाइन विस्तार गर्ने ठाउँमा बस्ती र खेतीयोग्य जमिनमा असर पर्ने भन्दै केही सर्वसाधारणले विरोध गरे पनि समाधानको दिशातिर गएको प्रदेश कार्यालयले जनाएको छ ।
विवाद समाधानोन्मुख भएसँगै अबको छ महिनाभित्र काम पूरा हुने र आठ महिनाभित्र पूर्णरूपमा विद्युत् सञ्चालन हुने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बताए ।
लाइन विस्तार कार्यको सुरुआत २०७७ असारदेखि गरिएको थियो । ठेक्का सम्झौता भएपछि आयोजनाले कानुनी प्रक्रियामै धेरै झन्झट भएकाले काममा ढिला हुँदै आएको थियो । संरचना निर्माण पूर्वका कानुनी उल्झन र विभिन्न अवरोधका कारण लक्ष्यअनुसार प्रगति हासिल हुन समय लागेको प्रदेश कार्यालयले जनाएको छ ।
अझै ३० प्रतिशत काम गर्न बाँकी छ । हाल सडक डिभिजन कार्यालयअन्तर्गतको रुख कटानको काम सकिएको छ भने राष्ट्रिय निकुञ्जमा रुख कटानका लागि प्रक्रिया अघि बढेको छ ।
आयोजनाअन्तर्गत कोहलपुरबाट सुर्खेतसम्म रहने कुल एक सय ६० वटामा २६ एङ्गल टावर निर्माण हुनेछन् । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनका अनुसार प्रसारण लाइनले ७० हेक्टर जमिन वनको क्षेत्र ओगट्नेछ । त्यसै गरी १६ हेक्टर खेतीयोग्य जमिन र दुई हेक्टर बाँझो जमिन तथा ११ हेक्टर अन्य भागले ओगट्ने प्रतिवेदनमा उल्लेख छ । यसमध्ये करिब चार हेक्टर जमिन स्थायी रूपमा सबस्टेसन निर्माणका लागि र तीन हेक्टर टावरको जग निर्माणका लागि अधिग्रहण गरिनेछ भने बाँकी करिब ९२ हेक्टर जमिन अस्थायी रूपमा प्रयोग गरिनेछ ।
चालिस प्रतिशत काम सम्पन्न गर्न बाँकी रहेको आयोजनाको २०८० चैतमा सम्झौता सकिँदैछ । भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले रु. ७० करोडमा आयोजनाको ठेक्का पाएको हो । जाजरकोट, सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, डोल्पा र रुकुमपश्चिममा अहिले ३२ केभी प्रसारण लाइनको विद्युत् सञ्चालमा रहेको छ । एक सय ३२ केभी निर्माण हुने बित्तिकै सबै ठाउँमा यही विद्युत् प्रसारण हुने छ । अहिले पानी पर्ने बित्तिकै कर्णालीमा विद्युत् सेवा अवरुद्ध हुने गरेको छ ।
त्यस्तै चार सय केभी प्रसारण लाइनको कामसमेत यसै आर्थिक वर्षमा सुरु गरिने भएको छ । सुर्खेतको भेरीगङ्गा–८ देउतीखोलामा सबस्टेसन निर्माण गर्नका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले २०७९ फागुन २० गते सूचना प्रकाशित गरी कामको सुरुआत गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्रप्रसाद ज्ञवालीले बताए ।
जाजरकोटको नलगाड–८ दानीपिपलबाट देउतीखोलासम्मको एक सय ५० किलोमिटर प्रसारण लाइन निर्माण गरेर देउतीखोलाको सबस्टेसनमा विद्युत् जोडिने छ ।
दुई हजार पाँच सय मेगावाट विद्युत् यही लाइनबाट मुख्य लाइनमा जोड्नका लागि यो कामको सुरुआत गर्न लागिएको हो ।
रु १४ अर्ब बराबरको लगानी गर्नुपर्ने डा. ज्ञावलीले बताए । जगदुल्ला एक सय छ मेगावाट, भेरी ‘ए’ तथा नलगाड जलविद्युत् आयोजना चार सय १७ मेगावाट विद्युत् यही स्टेशन हुँदै मुख्य लाइनमा जोडिने छन् ।