
अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताएका छन् ।
११० औँ बीपी जयन्तीका अवसरमा नेपालमा आर्थिक क्रान्तिका आधारहरू विषयक गोष्ठीलाई आज सोमवार सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
उनले लुम्बिनीको गौतमबुद्ध र कास्कीको पोखरा विमानस्थल भन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा प्राथमिकता यकिन गर्न नसक्दा काम सम्पन्न हुन नसकेको उल्लेख गरे ।
अर्थमन्त्री महतले भने, ‘हामीले पहिला लुम्बिनी र पोखरा एअरपोर्ट बनायौँ । सबैभन्दा पहिला निजगढ बनाउनुपर्थ्यो । हामीले कतिपय प्राथमिकतालाई सही यकिन गर्न सकेका छैनौँ । निजगढको विषयमा गर्ने-नगर्ने भन्ने धेरै भयो ।’
उनले अबको चार वर्षसम्म काठमाण्डौ–तराई द्रुतमार्ग बनिसक्ने र त्यही अवधिमा निजगढ विमानस्थल पनि बनाइसक्ने दाबी गरे ।
महतले नेपालमा जलविद्युत् र पर्यटनको सम्भावना बढी रहेको र त्यही क्षेत्रलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।
धेरै पर्यटकीय गन्तव्य पूर्वाधारको अभावले पहिचान हुन नसकेको उनको भनाइ छ ।
अर्थमन्त्री महतले सबै मिलेर काम गर्ने हो भने नेपालमा आर्थिक क्रान्ति सम्भव रहेको उल्लेख गरे ।
उनले आर्थिक परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र हुनुपर्ने र सरकारले सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने बताए ।
निजी क्षेत्रले उत्पादन गरेको कुरामा वितरणको नेतृत्व सरकारले लिनुपर्ने उनले उल्लेख गरे ।