
नेपाल र चीनबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि वातावरण बनाउने सहमति भएको छ ।
दुई देशका प्रधानमन्त्रीबीच छलफलपछि जारी संयुक्त वक्तव्यमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सन्तोषजनक रहेको जनाउँदै अन्तर्राष्ट्रिय उडानका लागि सहजीकरण गर्ने सहमति भएको उल्लेख छ ।
चीनकै ऋण सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल आन्तरिक (देशभित्र) उडान मात्रै भइरहेका छन् ।
अब अन्तर्राष्ट्रिय उडान पनि गर्ने वातावरण बनाउन चीन र नेपालबीच सहमति भएको हो ।
‘दुवै देशले आफ्ना एयरलाइन्स कम्पनीलाई उडान सुरु र थप उडानका लागि सहयोगसँगै सहजीकरण गर्ने’, संयुक्त वक्तव्यमा भनिएको छ, ‘पोखराबाट सिधा उडान गरी बजारको आवश्यकता, व्यापार र आर्थिक अन्तरक्रियाका लागि हवाई रुट व्यवस्थापन गर्ने ।’
पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान चिनियाँ एयरलाइन्स सिचुवान एयरलाइन्सले छेन्दुबाट गरेको थियो ।
गत असार पहिलो हप्ता भएको ड्रागन बोट फेस्टिभलमा चिनियाँ चार्टड उडानमाफर्फत सिधै पोखरा आइपुगेका थिए ।
त्यसपछि भुटानको ड्रुक एयरले भदौ अन्तिम साता सिधा चार्टड उडान गरेको थियो ।