
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।
प्रधानमन्त्री दाहालको भ्रमण दलमा निजी क्षेत्रका तर्फबाट सहभागी ढकालले चीनको छन्दु सहरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस भ्रमणका क्रममा नेपालमा चिनियाँ लगानी बढाउनाका साथै अन्य आर्थिक सम्भावनाको खोजी गरिएको बताए ।
भ्रमणको सुरुमै चीनको राजधानी बेइजिङमा नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा चिनियाँ व्यवसायीहरूको संस्था सीसीपीआईटी सम्मिलित ‘बिजनेस समिट’ सम्पन्न भएको थियो ।
उक्त समिटमा चिनियाँ लगानीकर्तासहित नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसङ्घलगायत नेपालका निजी क्षेत्रका प्रतिनिधिहरू पनि सहभागी भएका थिए ।
समिटमा नेपाल र चीनका प्रतिष्ठित व्यवसायीहरूको सहभागिता हुनु र चीनसँग संयुक्त लगानीका लागि केही सम्झौता हुनुलाई अध्यक्ष ढकालले नेपालमा चिनियाँ लगानी भित्र्याउन गरिएको प्रयासका रूपमा लिएका छन् ।