
नेपाल राष्ट्र बैंकले दसैँका लागि आज २९ असोजदेखि नयाँ नोट सटही सुविधा दिँदैछ ।
नजिकिँदै गरेका दसैँसहितका चाडबाड लक्षित गरि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो ।
राष्ट्र बैंकले आफ्नो मातहतका बैंकका तोकिएका शाखा र आफ्ना कार्यालयहरुबाट नयाँ नोट सटही गरिने जनाएकोछ ।
विगतमा जस्तै राष्ट्र बैंकले एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म सटही उपलब्ध गराउने भएको छ ।
पाँच रुपैयाँ, १०, २०, ५० र सय रुपैयाँ दरको एकरएक गड्डी नोट सर्वसाधारणले साट्न पाउने छन् ।
राष्ट्र बैंक र वाणिज्य बैंकहरुबाट समेत नयाँ नोट वितरण हुने छ। वाणिज्य बैंकले नयाँ नोट वितरण गर्ने शाखा तोक्ने छन् ।
काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ। वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ ।
काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।